काठमाडौ । कतारमा आयोजना हुने सन् २०२२ विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको तालिका सार्वजनिक भएको छ ।
बुधबार मलेसिया क्वालालम्पुरस्थित एएफसी हेडक्वाटरमा भएको 'ड्र'मा नेपाल समूह बी मा परेको छ । नेपाल रहेको समूहमा अष्ट्रेलिया सहित जोर्डन, कुवेत र चाईनिज ताईपेन रहेका छन् ।
फिफा बरियतामा एसियन क्षेत्रबाट ३४ भित्र परेपछि नेपालले पहिलो पटक सिधै दोस्रो चरण खेल्न मौका पाएको थियो । यस अघि नेपालले पहिलो चरण खेल्ने गरेको थियो ।
पहिलो पटक सिधै दोस्रो चरण खेल्न पाएको नेपाललाई अनुमान गरेको भन्दा निकै कठिन समूह परेको छ । नेपालले एक पटकको एसियन च्याम्पियन अष्ट्रेलिया सहित जोर्डन, कुवेत र चाईनिज ताईपनेको सामना गर्नेछ ।

नेपालले विश्वकप छनोटको तयारीका लागि स्विडिस प्रशिक्षक योहान कालिनलाई करिव ६ महिना अघि राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।
उनको प्रशिक्षकत्वमा नेपालले दोस्रो चरण पार गर्ने लक्ष्यका साथ तयारी सुरु गरिसकेको छ । उनकै आग्रहमा अखिल नेपाल फुटबल संघ एन्फाले पछिल्लो दुई महिना यता राष्ट्रिय टिमलाई नियमित प्रशिक्षणमा राखेको छ ।
दोस्रो चरण पार गर्ने आशा बोकेको नेपाललाई बुधबारको 'ड्र' सँगै कठिन समूह परेको छ । नेपालले समूह बी को पहिलोे खेल कुवेतविरुद्व घरेलु मैदानमा खेल्नेछ । दोस्रो खेल चाईनिज ताईपेनसँग समेत घरेलु मैदानमै खेल्नेछ ।
यस्तै तेस्रो खेल खेल्न नेपाल टिम अष्ट्रेलियाको यात्रामा गर्नेछ । चौथो खेलमा जोर्डनलाई अथित्यता प्रदान गर्दा पाचौैँ र छैठौँ खेलको लागि कुवेत र चाईनिज ताईपनको भ्रमणमा निस्केछ । यस्तै नेपालले सातौं खेल अष्ट्रेलियासँग घरेलु मैदानमा खेल्नेछ भने लिगको अन्तिम खेल भने जोर्डनको घरेलु मैदानमा खेल्नेछ ।
एएफसी एसियन कप २०२३ को छनोट समेत रहेको दोस्रो चरणमा ८ समूह रहेका छ । प्रत्येक समूहका शीर्ष एक टिम तेस्रो चरण प्रवेश गर्नेछ भने ८ समूहबाट उत्कृष्ट ४ टिमपनि तेस्रो चरण प्रवेश गर्नेछन् ।
नेपालका लागि अष्ट्रेलिया नौलो टिम हो र सबै भन्दा कठिन प्रतिद्वन्दी पनि । अन्य टिमसँग भने नेपालले प्रतिष्पर्धा गरिसकेको छ ।

योहान कालिनको आगमनसँगै नेपालले पहिलो भ्रमणको रुपमा कुवेतको यात्रा तय गरेको थियो । नेपाल र कुवेतबीचको दुई मैत्रिपुर्ण खेल मध्य एक खेल कुवेतले जितेको थियो भने अर्को खेल बराबरीमा सकिएको थियो ।
पहिलो खेलमा १–० ले पराजित भएको नेपाल दोस्रो खेलमा भने बराबरी गर्न सफल भएको थियो ।
यस्तै, योहान कालिन नेपाली टिम सहित मलेसिया भ्रमणमा निस्किएका थिए । सो भ्रमणमा नेपाली टिम मलेसियासँग २–० गोल अन्तरले पराजित भएको थियो । भने चाईनिज ताईपेनसँग १–१ को बराबरी खेलेको थियो ।
यस्तै सन् २०१४ को विश्वकप छनोटको दोस्रो चरणमा नेपालले जोर्डनको सामना गरेको थियो । पहिलो अवे खेलमा ९–० को भारी अन्तरले पराजित नेपाल होम खेलमा भने जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो ।
राष्ट्रिय फुटबल टिमका पुर्व मुख्य प्रशिक्षक बालगोपाल महर्जन नेपाल रहेको समूह बी निकैै शसक्त टिम रहेको बताउँछन् ।
‘साउथ एसियन टिममा सबै भन्दा बलियो टिम हाम्रोमा रहेको छ । सबै उत्कृष्ट देशहरु छन् । अघिल्लो चरण प्रवेशको सम्भावना निकै कठिन छ ।’ महर्जन भन्छन् ।
सन् २००६ देखि एसियाबाट खेल्न थालेको अष्ट्रेलिया दोस्रो चरणमा नेपालको समूहको सबै भन्दा कठिन राष्ट्र हो । सन् २००६ बाट अष्ट्रेलिया विश्वकप खेल्दै आईरहेको छ । त्यसैले पनि अष्ट्रेलिया जस्तो बलियो राष्ट्रसंग खेल्नु नेपालका लागि चुनौतीसंग अवसर समेत हो ।
नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकको रुपमा काम गरेका थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी समेत नेपालले आफ्नो स्तर भन्दा निकै कठिन प्रतिद्वन्दी पाएको स्विकार गर्छन् ।
‘समुह हेर्दा धेरै गाह्रो छ । हाम्रो जुन स्तर हो । त्यो भन्दा धेरै गुणा राम्रो टिम छन् । कोशिस गर्नु पर्छ, राम्रो खेल दिनुपर्छ । फुटबमा नसोचेको नतिजा आउन सक्छ ।’ केसी भन्छन् ।
‘अष्ट्रेलिया लगायतका टिम छन् । उनीहरुसँग खेल्न पाउनुनै ठुलो कुरा हो ।’ उनी भन्छन् ।
नेपाली फुटबलबारे जानकार सन्जिब मिश्र समेत युरोपेली फुटबलमा अभ्यस्त राष्ट्रका खेलाडीसंग खेल्न निकै कठिन हुने बताउँछन् ।
‘नेपालको समूह अपेक्षा भन्दा धेरै कठिन देखेको छु । सम्भावन कम छ । तर त्यो भन्न हुन्न, फुटबलमा जे पनि हुन्छ । ’ मिश्र भन्छन् ।
दोस्रो चरणका ८ खेलमा ४ खेल भने घरेलु मैदानमा खेल्नेछ । त्यसको प्रत्यक्ष फाइदा नेपाली टिमले लिन सक्नेछ । अघिल्लो केही नतिजाले समेत त्यसलाई पुष्टि गर्छ । जोर्डनसँग पहिलो खेलमा ९–० ले पराजित नेपाल दोस्रो खेलमा भने १–१ को बराबरी गरेको थियो ।
नेपाल रहेको एक मात्रै दशरथ रंगशालाको पुनर्निमाणमा ढिलाई भएका कारण घरेलु मैदानमा नेपालले खेल्ने सम्भावना केही कठिन रहेको छ ।
यस्तै अवस्थामा नेपालले अन्य देशमा गएर खेल खेल्नुपर्ने हुनसक्छ ।