एजेन्सी । पेरिस सेन्ट जर्मेन पीएसजीका प्रशिक्षक थोमस टुचेलले ब्राजिली स्टार नेयमारले कोपा अमेरिका सुरु हुनु अघिनै क्लब छाड्न चाहेको बिषय आफुलाई जानकारीमा रहको बताएका छन् ।
पछिल्लो हप्ता नेयमार खेलाडी सरुवा बजारको केन्द्रमा छन् । आफु फ्रान्सेली क्लबमा खुसी हुन नसकेको भन्दै उनले पेरिस छाड्न चाहेको बताई सकेका छन् ।
क्लब छाड्ने चर्चासंगै नेयमार पीएसजीको प्रि–सिजन अभ्यासमा समेत अनुपस्थित रहेका थिए ।
पीएसजीका खेल निर्देशक लियोनार्दोले नेयमारले क्लब छाड्न सक्ने बताई सकेका छन् । उनले नेयमारको बिषयमा कुनै गम्भिर प्रस्ताव नआएको समेत उल्लेख गरेका छन् ।
अब टुचेलले समेत नेयमारले क्लब छाड्ने बिषय आफुलाई पहिल्यै थाहा भएको बताउँदै यस बिषयमा निर्णय आवश्यक रहेको बताएका हुन् ।

‘जब खेलाडीले ढिला पुग्छन्, म सधै निराश हुन्छु । तर अहिले हामी दुवै स्पष्ट भएका छौ । तर अब क्लब र नेयमारबीचको कुरा टुङ्गिन बाँकी छ । अनि हामीसंगै काम गर्न सक्छौ ।’ टुचेलले भने ।
उनले कोपा अमेरिका प्रतियोगिता अगाडीनै नेयमारले क्लब छाड्न चाहेको बिषय आफुलाई जानकारीमा रहेको खुलाए ।
‘म प्रशिक्षक हुँ । उनी मेरो खेलाडी हुन् । यदी उनी लकर रुममा हुन्छन् भने उनी मेरो खेलाडी हुन् । म उनीसंग काम गर्छु ।’ उनले थपे ।
‘म सबै चिजका लागि तयार छु । हामी लचक छौ । मैले उनीसंग यस बिषयमा कुरा गरेको छैन । यो क्लब र नेयमारबीचको कुरा हो । म हस्तक्षप गर्दिन । यो मेरो बिषय हैन ।’ टुचेलले बताए ।
नेयमार प्रि–सिजन अभ्यासका लागि सोमबार मात्र पेरिस पुगेका छन् । तर उनी टिममा सहभागी छैनन् । मंगलबार मात्र भएको खेलमा पीएसजीले फराकिलो जित निकालेको थियो ।
पीएसजी प्रि–सिजन टूरका लागि चीन जादैछ । प्रशिक्षक टुचेलले नेयमार चीनको टूरमा सहभागी हुन सक्ने बताएका छन् ।
‘नेयमार टिमसंग जोडिन सक्छन् । उनी सोमबार आए । अन्य खेलाडी जस्तै उनी दुई दिन परिक्षणमा रहनेछन् ।’ उनले भने ।