काठमाडौं । बलर अमृत भट्टराई एक समय नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य थिए । हाल अमृत अष्ट्रेलियाको होबर्टमा बस्दै आएका छन् ।
नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकपमा ऐतिहासिक सहभागिता जनाउँदा अमृत नेपाली टोलीमा रहेका थिए । विश्वकपमा उनले डेब्यु गर्ने मौका भने पाएनन् ।
बाँया हाते बलर अमृतले अन्तिम पटक सन् २०१५ मा भएको डिभिजन-२ मा नेपालको जर्सी लगाएका थिए । अमृतको अन्तिम अन्तराष्ट्रिय खेल सन् २०१४ मा भएको हङकङविरुद्धको सिरिज हो । उक्त खेलमा उनले ३ ओभर बलिङ गर्दै १ विकेट लिएका थिए । ब्याटिङमा २ रन बनाउँदा उनि रन आउट भएका थिए ।

नेपालबाट अमृतले ७ टी-ट्वान्टी खेलमा ३ विकेट हात पारेका छन् भने टी-ट्वान्टी अन्तराष्ट्रियको एक खेलमा १ विकेट हात पारेका थिए ।
यसअघि सन् २०१२ को डिभिजन-४ मा सिंगापुरविरुद्ध अमृतले ४ विकेट लिएका थिए । यस्तै सन् २००६ को यू-१९ विश्वकपमा नेपाल प्लेट च्याम्पियन बन्दा अमृत टिमको महत्वपूर्ण सदस्य थिए l अमृतले प्लेट च्याम्पियनको फाइनलमा न्युजिल्याण्डका मार्टिन गुप्टिलसहित २ विकेट लिएका थिए l

घरेलु लिग खेल्ने क्रममा अमृतले घुँडाको चोट बोके । घुँडाको चोट बोकेपछि अमृतको क्रिकेट यात्रा कठिन बन्यो । लगत्तै उनी अअष्ट्रेलिया गए । तर, अष्ट्रेलियामा पनि अमृत क्रिकेटमा व्यस्त छन् ।
अष्ट्रेलियन प्रिमियर लिगको दोस्रो श्रेणीमा अमृतले आफ्नो खेल कौशल देखाईरहेका छन् । अघिल्लो पटक पर्थबाट प्रतियोगिता खेलेका उनले यस पटक तास्मेनिया विश्वविद्यालयबाट खेल्न लागेका छन् ।

तर, अमृतलाई भने नेपालमा क्रिकेट खेल्ने धोको पुरा भएको छैन । त्यसैले अमृत नेपालको फ्रेन्चाईज लिग पोखरा प्रिमियर लिग (पीपीएल) खेल्न नेपाल आउने योजनामा छन् ।
पीपीएल टिमले अनुबन्ध गरेमा अमृत ६ महिना चल्ने अष्ट्रेलियन प्रिमियर लिगको दोस्रो श्रेणी छाडेर नेपाल आउने योजनामा रहेका छन् । अष्ट्रेलियाको उक्त लिग सेप्टेम्बरबाट सुरु हुँदैछ ।
'मेरो लागि अष्ट्रेलिया भन्दा नेपाल ठुलो हो । घुँडाको चोट ठिक भएको छ र अहिले तास्मेनिया विश्वविद्यालयबाट प्रि-सिजनमा व्यस्त छु,' अमृतले खेलपाटीसँग भने, 'यो पटक पोखरा प्रिमियर लिगका लागि फारम भर्नेछु । कुनै टिमले लिएका अष्ट्रेलियाको लिग छाडेर नेपाल आउने छु ।'
पीपीएलको अघिल्लो संस्करण कार्तिकमा भएको थियो । उक्त संस्करण घरेलु टिम पोखरा पल्टनले जितेको थियो ।