काठमाडौं । हँसि मज्जाक गर्नु पर्ने मान्छे, धेरैलाई खुबै मन पर्छ । यस्ता मान्छेहरूले माहौललाई खुबै रंगीन बनाइदिन्छन् । अनि यस्ता मान्छेहरू निकै साधारण पनि हुने गर्छन्, त्यसमा कुनै प्रकारको बनावटी पाइन्न । यो एक प्रकारले आम मान्छेको कथा जस्तै हुन्छ । यस्तै यस्तै छन्, पिटर क्रच ।
केही दिन अगाडिसम्म पनि उनी भनिरहेका थिए, ‘चेल्सीबाट खेल्न मैले भर्खर फ्रान्क लाम्पार्डलाई सन्देश पुर्रयाएको छुं ।’ लगतै उनले भने, ‘सायद म रियल मड्रिडबाट खेल्छुं ।’
कहिले त ? उनको फेरि उत्तर हुने गर्छ, ‘यो भने टुंगो छैन, कहिले हो कहिले । यो सबै ग्यारेथ बेलमा निर्भर हुन्छ । उनले छाडे भने म रियलमै जानेछुं ।’ साँच्चै यस्ता छन्, क्रच । आफुले आफैलाई उडाउन सक्ने मान्छे अचेल कहाँ पाइन्छ र ? अब सुरु हुने नयाँ सिजनका लागि उनीसँग कुनै नयाँ क्लब थिएन् । त्यसो भनेको उनको अनुबन्ध कसैसँग थिएन् । जसले चाहन्थ्यो, उसले उनलाई ‘फ्रि’ लान सक्थे । यसैबीच उनले एउटा नयाँ निर्णय गरे ।
र, त्यो थियो, ‘अब म खेल्दिनं । सन्यास लिन्छुं ।’ उनी ३८ वर्षका भइसकेका छन् । जनवरी आउनु पर्छ, ३९ वर्षमा हुनेछन् । उनकै शब्दमा उनी अझै उत्तिकै ‘फिट’ छन्, ‘फाइन’ पनि छन् । तर उनी एउटा निर्णय गर्नका लागि २३ वर्षदेखि लगातार कुरिरहेका थिए । त्यो व्यग्र प्रतीक्षाको निर्णय थियो, यही सन्यासको । ओहो, कति रमाइलो गर्नु पर्ने मान्छे । इंग्लिस फुटबलमा उनीबारे यस्तो धेरै किस्सा छन्, जसले सुन्दा पनि हाँसो आउँछ, कसैको पनि ।

सन् १९८१ मा जन्मेका क्रच १० वर्षका छँदा चेल्सीमा बल ब्वाइ थिए । तर चेल्सीमा छँदा पनि उनी समर्थक भने अर्को लन्डन क्लब क्विन्स पार्क रेन्जर्स (क्यूपीआर) का थिए । उनका बुबा घुमन्ते थिए, जता ततै जान्थे र जागिर खान्थे । यस्तै स्वभाविका रहे, खेल्ने क्रममा पनि । उनी पनि आफ्नो खेल जीवनका घुमन्ते नै रहे, एकपछि अर्को क्लब आउने जाने गरिरहे । यसकै अब एउटा सूची बनाऔं न । किशोर उमेरमा छँदा उनी ब्रेन्टफोर्ड, क्यूपीआर र टोटनहममा थिए ।
ठूलो भइसकेपछि दुई वर्ष टोटनहममा बिताए, तर खेल्न भने कहिल्यै पाएनन् । त्यसबीचमा उनलाई ऋणमा पठाइयो, नामै नसुनेका क्लबमा । पछि उनले क्यूपीआर, पोर्टसमाउथ र एस्टन भिल्लामा बिताए । फेरि एकपल्ट ऋणमै नरविचबाट पनि खेले । फेरि साउथह्याम्पटन पुगे । त्यसपछिको उनको क्लब भने लिरभपुल थियो, जुन समय उनको खेल जीवनको सबैभन्दा सफल क्षण थियो, सन् २००५ देखि २००८ बीच । त्यसपछि उनी पोर्टसमाउथ, टोटनहम र स्टोकमा बरालिए ।
उनको अन्तिम क्लब थियो, बर्नली । उनको व्यक्तित्वको सबैभन्दा ठूलो विशेषता थियो, उनको उचाइ । उनी साँच्चै निकै निकै अग्ला थिए, ६ फिट ७ इन्च । फुटबलमा उचाइको आफ्नै महत्व छ, तर यति धेरै अग्ला खेलाडीको पनि के काम जस्तो लाग्न सक्छ । मैदानमा अरू खेलाडीसँग लहरै उभिदा उनको ठ्याक्कै अगल देखिन्थे, अग्लो न अग्लो । दुब्ला पनि थिए । उनको अनुहार राम्रोसँग नियाल्नु पर्छ, लाग्छ, त्यसमा मासु निकै कम छन् ।
तर उनी सबैका प्रिय भने थिए । उनी जहाँ जान्थे, त्यहाँ सबैका प्रिय हुन्थे, उनका समर्थक जताततै थिए । अब उनको खेल कस्तो थियो त ? यो प्रश्न क्रचलाई नै सोध्ने हो भने उत्तर आउन सक्छ, ‘म कहाँ राम्रो खेलाडी हुं ?’ उनी प्रायः भन्ने गर्छन्, औसत हुने गर्छ, उनको खेल । तर होइन, उनी निकै राम्रा खेलाडी नै थिए । इंग्लिस प्रिमियर लिगमा हेडबाट सबैभन्दा बढी गोल कसको नाममा छ ? उत्तर हो, क्रच । उनले समग्रमा सय गोल गरे ।

यत्तिको सय गोल गर्ने खालि २८ खेलाडी मात्र छन् । अब सजिलै अनुमान गर्न सकिन्छ, उनी कत्तिको खेलाडी हुन् भनेर । मैदानमा उनले बल अगाडि बढाउँदा लाग्छ, उनी कतै लड्ने त होइनन ? शरीरमा किन यस्तो असन्तुलन देखिएको ? यो सबै उनको उचाइकै कारण हो । लिभरपुलमा छँदा उनले एफएकप जिते, युरोपेली च्याम्पियन्स लिगको फाइनल पनि खेले, त्यसमा उप विजेतामै चित्त बुझाए । लिभरपुलका लागि उनले ४२ गोल गरे ।
यत्तिको खेलाडीले इंग्ल्यान्डका लागि पनि त मौका पाउने नै भए । उनले आफ्नो देशका लागि ४२ पल्ट खेले र २२ गोल गरे । यसबीच उनले एउटा संस्करणको विश्वकप पनि खेले । त्यो भनेको सन् २०१० को विश्वकप । सन्यास लिने क्रममा उनले भनेका छन्, ‘कसैले मलाई खेल्न सुरु गर्दा यस्तो गर्न सक्छौं, उस्तो गर्न सक्छौ भनेको भए, म विश्वास नै गर्न सक्दिनं थिए । बरू फुटबल नै खेल्न छाडिदिन्थें ।’ तर उनले फुटबल खेले पनि ।

धेरैथोक पाए पनि । इंग्लिस फुटबलमा उनी जत्तिको खेलाडी फेरि आउने छन्, अथवा नआउन पनि सक्नेछ । तर उनको जस्तो व्यक्तित्व र स्वभावका खेलाडी पक्कै आउने छैन् । उनले खेल्न छाड्दा सबैले गुमाउने भनेको त्यही हो । क्रच साधारण मान्छे थिए, साधारण नै रहन चाहे । उनका मनमा पनि दुःख हुँदो हो, तर त्यसलाई देखाउन चाहेनन । बरू सबैलाई हँसाउनै चाहे । अनि यही हो, आम मान्छेको कथा । भन्नै पर्छ, क्रच, तिमी पनि क्या मान्छे छौ ।