एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको पूर्व मिडफिल्डर जाभी हर्नान्डेजले ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोना फर्किए 'अविश्वसनीय' सरुवा हुने बताएका छन् ।
बार्सिलोनाका लिजेण्ड जाभीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार बार्सिलोना फर्कने सम्भावना कठिन रहेको बताए । तर, नेयमार बार्सिलोना फर्किएमा अविश्वसनीय हस्ताक्षर हुने जाभीले बताए ।
'त्यो अविश्वसनीय हस्ताक्षर हुनेछ,' कतारी क्लब अल सादका प्रशिक्षक रहेका जाभीले भने, 'तर, मैले देखेको यो निकै कठिन छ । इमान्दार भएर भन्दा मलाई लाग्छ यो निकै कठिन छ । हामीले धेरै कुराहरु देखेका छौ । पीएसजीले २ सय २२ मिलियन दिएको छ त्यसैले हामीले पर्खनुपर्छ ।'
नेयमार सन् २०१७ मा र्कीतिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पीएसजी गएका थिए । तर, पछिल्लो समय क्लबसँग राम्रो सम्बन्ध नहुदा नेयमार बार्सिलोना फर्कने हल्ला चलिरहेको छ । यस्तै पीएसजीका सर्पाेटस् डिरेक्टर लियोनार्दाेले नेयमार उचित मूल्यमा उपलब्ध हुने बताईसकेका छन् ।
यस्तै जाभीले नेयमार विश्वको उत्कृष्ट खेलाडी भएकोमा कुनै शंका नभएको समेत बताए ।
'यहाँ कुनै शंका छैन उ विश्वको उत्कृष्ट खेलाडी मध्ये एक हुन्, तर हेरौं बार्सिलोनाले के गर्छ ।’ जाभीले भने ।