एजेन्सी । ब्राजिलका पूर्व अट्याकिङ मिडफिल्डर रिभाल्डोले यस बर्ष लियोनल मेस्सीले बालोन डी'ओर उपाधि जित्ने बताएका छन् ।
विश्वकप विजेता रिभाल्डोले च्याम्पियन्स लिग नजितेपनि अन्य कारणले मेस्सीले बालोन डी'ओर जित्ने दाबी गरे । मेस्सीले यस सिजन व्यक्तिगत रुपमा उच्च प्रदर्शन गरेको कारण अवार्डका हकदार रहेको उनको दाबी थियो ।

'मेरो विचारमा मेस्सीले यस बर्ष बालोन डी'ओर जित्नेछन्,' ब्राजिलका पूर्व खेलाडी समेत रहेका रिभाल्डोले मार्कासँग भने, 'उनले च्याम्पियन्स लिग जित्न सकेनन् तर यो व्यक्तिगत पुरस्कार हो । उनले धेरै गोल र महत्वपूर्ण गोल गरेका छन् । मलाई लाग्छ मेस्सी हकदार छन् ।'
यस बर्षको बालोन डी'ओर अवार्डका लागि मेस्सीसँगै लिभरपुलका भिर्गिल भान डिज्क चर्चामा रहेका छन् । मेस्सीले यस सिजन सबैखाले प्रतियोगितामा ५१ गोल गरेका थिए । डिफेन्डर भान डिज्कले लिभरपुललाई च्याम्पियन्स लिग जिताउन मुख्य भूमिका खेलेका थिए ।
बालोन डी'ओर अवार्डमा हालसम्म मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले मात्र समान ५/५ पटक कब्जा जमाएका छन् ।
यस्तै रिभाल्डोले मेस्सी बार्सिलोनाका लागि फरक खेलाडी भएको र रोनाल्डो हरेक क्लब र राष्ट्रको लागि राम्रो खेलाडी रहेको बताए । उनले मेस्सी र रोनाल्डो दुवै अहिलेका महान खेलाडी भएको समेत बताए ।