एजेन्सी । फ्रान्क लाम्पार्डले बराबरीसंग लण्डन क्लब चेल्सीको प्रशिक्षण यात्रा सुरु गरेका छन् । प्रि–सिजन टुरमा रहेको चेल्सीले पहिलो खेलमा आयरल्याण्डको क्लब बहिमियनसंग १–१ को बराबरी खेलेको छ ।
फरवार्ड मिक्की बात्सुहीले खेलको आठौं मिनेटमा प्रिमियर लिग क्लब चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर खेलको अन्तिम मिनेटमा घरेलु टोली बहिमियनका इरिक मोलायले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
चेल्सीका सदाबहार गोलकर्ता लाम्पार्ड नयाँ सिजनबाट लण्डन क्लब सम्हाल्न आईपुगेका छन् । माउरिजियो सर्री ईटालियन महारथी क्लब युभेन्ट्स लागेपछि लण्डन क्लबले लाम्पार्डलाई क्लबको जिम्मा लगाएको हो ।
मुख्य प्रशिक्षक लाम्पार्डले दुवै हाफमा फरक खेलाडीलाई मौका दिएका थिए । उनले सुरुवाती ११ मा अनुभवी र युवा खेलाडीलाई मौका दिएको थियो । र दोस्रो हाफमा उनले अन्तिम सिजन लोनमा बाहिरको क्लबमा बिताएका खेलाडीलाई मौका दिएका थिए ।
लाम्पार्डलाई तीन बर्षका लागि चेल्सीको प्रशिक्षकमा नियुक्त गरिएको छ । ईङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडी उनले चेल्सीको जर्सीमा ६ सय ४८ खेल खेल्दै २ सय ११ गोल गरेका थिए । उनले लण्डन क्लबका लागि ११ मुख्य उपाधि जितेका थिए ।