काठमाडौं । विभागीय टिम एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बुधबार एपीएफ र मनाङले १-१ गोलको बराबरी खेल्दै समूह 'बी' बाट क्वाटरफाइनल पुगेको हो । एपीएफका लागि निशान रावलले एक गोल गरे । मनाङका लागि एपीएफकै आशिष गुरुङले आत्मघाती गोल गरे ।
बराबरीसँगै समूह 'बी' मा एपीएफले ४ खेलबाट ५ अंक जोड्यो । एपीएफ उपविजेता बन्यो । यस्तै ४ खेलबाट ५ अंक नै जोडेको मनाङ तेस्रो स्थानमा रहेर क्वाटरफाइनल पुग्यो ।
यस समूहबाट ४ खेलबाट १२ अंक जोडेको आर्मी शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगिसकेको छ ।
यस समूहमा फ्रेन्ड्स क्लब र थ्री स्टारको एक एक अंक रहेको छ । समूहको अन्तिम खेलमा फ्रेन्ड्सले थ्रीस्टारको सामना गर्नेछ । दुई खेलको नतिजाले क्वाटरफाइनल समीकरणमा कुनै असर गर्ने छैन ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।