काठमाडौं । हिमालयन शेर्पा क्लबले राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
बुधबार भएको खेलमा एनआरटीसँग १-१ गोलको बराबरी खेलेपनि हिमालयनले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एनआरटीले लिएको सुरुवाती अग्रता उल्टाएर हिमालयनले बराबरी खेलेको हो ।
एनआरटीका लागि क्रितिश रत्न छन्छुले एक गोल गरे । हिमालयनका सुजन कुमार थापाले एक गोल फर्काए ।
बराबरीसँगै समूह 'ए' को हिमालयनले ४ खेलबाट ६ अंक जोड्यो । एनआरटीको ४ खेलबाट ५ अंक रहेको छ ।
यस समूहबाट एक खेल कम खेलेको मछिन्द्रको ३ खेलबाट ६ अंक रहेको छ । यस्तै संकटा क्लबको ५ र च्यासल युथ क्लबको १ अंक रहेको छ ।
यस समूहबाट मछिन्द्र र च्यासलबीचको खेलले समूह विजेताको टुंगो लाग्ने छ । यस समूहबाट ३ टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।