काठमाडौं । जावलाखेल युथ क्लबले राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा सान्त्वना जित निकालेको छ ।
मंगलबार भएको खेलमा सरस्वती युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै जावलाखेलले सान्त्वना जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा जावलाखेललाई जित दिलाउन कप्तान सचु गुरुङले ह्याट्रिक गोल गरे ।
जितसँगै समूह 'सी'को जावलाखेलले ४ खेलबाट ३ अंक जोड्यो । सरस्वतीले ४ खेलमा अंक जोड्ने सकेनन् ।
यस समूहबाट सरस्वती र जावलाखेल बाहिरिएको छ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।