काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला फुटबलको तयारीका लागि प्रारम्भिर रुपमा ४० खेलाडीलाई बोलाउने भएको छ ।
आगामी डिसेम्बरमा काठमाडौंमा हुने तय भएको सागको तयारीका लागि पहिलो चरणमा एन्फाले ४० महिला खेलाडीलाई बोलाउने तयारी गरेको हो ।
‘पहिलो चरणको लागि ४० खेलाडी बोलाउने तयारी गरेको छु ।’ महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरी खड्काले खेलपाटीसंग भने ।
साउनको सुरुबाट तयारी सुरु गर्ने तयारी भएपनि मैदान अभावका कारण प्रारम्भिक प्रशिक्षण केही ढिला सुरु हुनेछ ।
‘साउनको पहिलो साताबाट प्रशिक्षणमा बोलाउने तयारी थियो । मैदान अभावको कारण अहिले बोलाउन पाएको छैन । साउन आउन अझै बाँकी छ । अभ्यास गर्ने मैदानको पखाईमा छौ । मैदान उपलब्ध हुने बित्तिकै प्रशिक्षण सुरु हुनेछ ।’ उनले भने ।
म्यानमारमा भएको ओलम्पिक छनोटको दोस्रो चरण खेलेपछि नेपाली टिम प्रशिक्षण विहिन अवस्थामा छ । त्यसयता नेपाली टिमले कुनै प्रतियोगिता खेलेको छैन ।
एन्फाले केही हप्ता अघि मात्र उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
सोही प्रतियोगितामा राम्रो प्रर्दशन गर्ने खेलाडीलाई समावेश गरेर सागको प्रशिक्षण थाल्ने प्रशिक्षक खड्काले बताए ।
उपमेयर कपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी सहित अन्य खेलाडीलाई प्रशिक्षणका लागि बोलाउने एन्फाको तयारी छ ।
‘भखरै सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सहित पुराना खेलाडी प्रारम्भिक टोलीमा रहनेछन् ।’ उनले भने ।
सागका लागि एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी हरी खड्कालाई दिएको छ । त्यस्तै सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलकिपर प्रशिक्षकमा अस्मिता खवासलाई जिम्मेवारी दिएको छ ।