काठमाडौं । राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको एकै खेलमा ४ रातो कार्ड निस्किएको छ ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको विभागीय डर्बी अन्तर्गत त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपीएफबीचको खेलमा रातो कार्डको बर्षा भएको हो ।
आर्मी र एपीएफबीचको खेलको दोस्रो हाफको एकै मिनेटमा रातो कार्डको बर्षा भएको हो । योसंगै प्रतियोगिताको २० औं खेलमा ४ रातो कार्ड निस्किएको छ ।
खेलको ६२ औं मिनेटमा एपीएफ र आर्मीका खेलाडीबीच झगडा भएपछि रेफ्रि प्रकाश नाथ श्रेष्ठले दुवै टिमका चार खेलाडीलाई रातो कार्ड दिएका हुन् । जसको कारण दुवै टिम अन्तिम ३० मिनेट ९ खेलाडीमा सिमित भएर खेलेका थिए ।
आर्मीका आशिष राई र कैलाश लामिछाने खत्रीले रातो कार्ड पाएका थिए । एपीएफका रन्जन पुन र पुकार खड्काले रातो कार्ड पाएका थिए ।
खेलमा आर्मीले २–० गोलको अग्रता बनाएपछि खेल तनाबग्रस्त बन्न पुगेका थियो । त्यसपछि दुवै टिमका खेलाडी एक अर्काविरुद्ध हात हालाहाल गर्दै मैदानमा भिडेका थिए ।

यद्यपि खेलमा आर्मीले जित निकालेको थियो । लगातार चौथो जित निकाल्ने क्रममा आर्मीले एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्याे । आर्मीको जितमा आशिष राई र विनय चौधरीले एक एक गोल गरे । एपीएफको लागि निशान रावलले एक गोल फर्काएका थिए ।
एपीएफका खेलाडीले बल ह्यान्ड गरेपछि खेलको ३३ औं मिनेटमा आर्मीका आशिषले पेनाल्टीबाट गोल गर्दै अग्रता बनायो । यस्तै दोस्रो हाफमा आर्मीले अग्रता दोब्बर बनायो । एपीएफका खेलाडीले राम्ररी क्लियर गर्न नसकेको बलमा आर्मीका विनयले ५३ औं मिनेटमा हेडबाट गोल गरेका थिए ।
त्यसपछि दुवै टिम ९–९ खेलाडीमा सिमित भएको थियो । यस्तै खेलको ६३ औं मिनेटमा निशानले एक गोल फर्काएपनि एपीएफले जित निकाल्न सकेन ।
जितसँगै आर्मी समूहमा शतप्रतिशत जित निकाल्दै समूह विजेताका रुपमा अन्तिम ८ मा प्रवेश गरेको छ । र, समूह 'बी' को आर्मीले ४ खेलबाट १२ अंक जोड्यो ।
यस्तै एपीएफको ३ खेलबाट ४ अंक रहेको छ । यस समूहमा फ्रेन्ड्स क्लब र थ्री स्टारको एक एक अंक रहेको छ । मनाङ मर्स्याङ्दीको ४ अंक छ ।
समूहको अन्तिम खेलमा एपीएफले मनाङको सामना गर्दा फ्रेन्ड्सले थ्रीस्टारको सामना गर्नेछ ।