काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार भएको खेलमा एपीएफलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मी समूह विजेता बनेको हो ।
आर्मीको लगातार चौथो जितमा आशिष राई र विनय चौधरीले एक एक गोल गरे । एपीएफको लागि निशान रावलले सान्त्वना गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलम दुवै टोली ९ खेलाडीमा समेटिएको थियो ।
जितसँगै समूह 'बी' को आर्मीले ४ खेलबाट १२ अंक जोड्यो । आर्मीको लिग चरणको खेल समेत सकिएको छ ।
यस्तै एपीएफको ३ खेलबाट ४ अंक रहेको छ । यस समूहमा फ्रेन्ड्स क्लब र थ्री स्टारको एक एक अंक रहेको छ । मनाङ मर्स्याङ्दीको ४ अंक छ ।
समूहको अन्तिम खेलमा एपीएफले मनाङको सामना गर्दा फ्रेन्ड्सले थ्रीस्टारको सामना गर्नेछ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।