काठमाडौं । राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार भएको खेलमा संकटा र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । र, एक एक अंकमा चित्त बुझाए ।
यो बराबरीसँगै समूह 'ए' मा रहेको संकटाले ४ खेलबाट ५ अंक जोडेको छ । संकटाको क्वाटरफाइनल पुग्ने सम्भावना समेत कमजोर बनेको छ ।
हिमालयनको ३ खेलबाट ५ अंक रहेको छ । हिमालयनको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो रहेको छ ।
यस समूहबाट एन आर टी को ३ खेलबाट ४, मछिन्द्रको ३ खेलबाट ६ र च्यासलको ३ खेलबाट १ अंक रहेको छ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।