एजेन्सी । ब्राजिली प्रशिक्षक टिटेले अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले पराजय स्विकार्न आवश्यक रहेको बताएका छन् । कोपा अमेरिकाको उपाधि जितेपछि प्रतिक्रिया दिदै टिटेले मेस्सीले अरुमा सम्मान देखाउन आवश्यक रहेको बताएका हुन् ।
तेस्रो स्थानका लागि चिलीसंगको खेलपछि मेस्सीले दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्टाचारमा डुबेको भन्दै पदक लिन अस्विकार गरेको थिए । उनले आयोजक राष्ट्र ब्राजिललाई जिताउन पुरै सेटिङ रचिएको समेत आरोप लगाएका थिए ।
ब्राजिलले कोपा अमेरिकाको फाईनलमा पेरुलाई ३–१ ले हराउँदै १२ बर्षपछि कोपा अमेरिकाको उपाधि उचालेको थियो । टिटेले उपाधि जित्न ब्राजिलले कठिन यात्रा पार गरेको समेत बताए ।
‘मेस्सीले केही सम्मान देखाउन आवश्यक छ । जब पराजित हुन्छन्, उनले हार स्विकार्न आवश्यक छ ।’ टिटेले भनेका छन् ।
विवादास्पद सेमिफाईनलमा ब्राजिलले अर्जेन्टिनालाई २–० ले हराएको थियो ।
‘हाम्रा धेरै खेल रेफ्रीको निर्णयबाट प्रभावित छन् । हामीले निकै दबाब दिएका थियौ । हामीले सबै समय निकै निष्पक्ष खेल प्रर्दशन गरेका थियौ ।’ टिटेले दाबी गरेका छन् ।