एजेन्सी । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको उपाधि भिडन्त आज (आइतबार) हुँदैछ ।
लियोनमा हुने फाइनलमा भिड्दैछन् - अमेरिका र नेदरल्याण्ड । फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ मा सुरु हुनेछ । उपाधिका लागि मैदान उत्रदा दुवै टोलीको लक्ष्य च्याम्पियन बन्ने हुनेछ ।
महिला विश्वकप फुटबलमा अमेरिका सर्वाधिक सफल राष्ट्र हो । साबिकको विजेतासमेत रहेको अमेरिकाले हालसम्म ३ पटक उपाधि जितेको छ । र, अमेरिका नेदरल्याण्डलाई हराएर किर्तिमानी चौथो पटक उपाधि जित्न चाहन्छ ।
निकै उत्कृष्ट प्रदर्शन गरिरहेको अमेरिकाले सेमिफाइनलमा इंग्ल्याण्डलाई पराजित गरेको थियो ।
यता, नेदरल्याण्डले पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको थियो । नेदरल्याण्ड अमेरिकालाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । नेदरल्याण्डले सेमिफाइनलमा स्विडेनलाई हराएको थियो ।
अमेरिका र नेदरल्याण्डबीच हालसम्म मात्र २ पटक प्रतिस्पर्धा भएको छ । दुवै भेट मैत्रीपूर्ण खेलमा भएको थियो । जसमा अमेरिकाले दुवै खेल ३-१ ले जितेको थियो ।