एजेन्सी । साबिकको विजेता क्यामरुनलाई पराजित गर्दै नाइजेरिया इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको अन्तिम आठमा प्रवेश गरेको छ ।
शनिबार भएको अन्तिम १६ को खेलमा क्यामरुनलाई ३-२ गोल अन्तरले पराजित गर्दै नाइजेरिया क्वाटरफाइनलमा पुगेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा नाइजेरियालाई जित दिलाउन ओडिओन इघालोले दुई गोल गरे । यस्तै एलेक्स इओबीको नाममा एक गोल रह्यो ।
क्यामरुनका स्टेफान बाहोकेन र क्लिन्टन एनजीले एक एक गोल फर्काए ।
खेलको १९ औं मिनेटमा ओडिओनले गोल गर्दै नाइजेरियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४१ औं मिनेटमा स्टेफानले गोल गर्दै क्यामरुनलाई खेलमा फर्काए । ४४ औं मिनेटमा क्लिन्टनले गोल गरेपछि क्यामरुन पहिलो हाफमा २-१ ले अघि रह्यो ।
दोस्रो हाफमा नाइजेरियाले थप दुई गोल गर्यो । खेलको ६३ औं मिनेटमा ओडिओनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बर्बरिमा ल्याए । त्यसपछि खेलको ६६ औं मिनेटमा इओबीले गोल गर्दै नाइजेरियालाई ३-२ को जित दिलाए ।
अब नाइजेरियाले सेमिफाइनल प्रवेशका लागि आयोजक इजिप्ट र दक्षिण अफ्रीकाबीचको बिजेतासँग खेल्ने छ ।