काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सानदार सुरुआत गरेको छ ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा कोशीले आयोजक ललितपुर मेयर्स ११ लाई ७ विकेटले पराजित गरेको छ ।
टियु मैदान कीर्तिपुरमा भएको खेलमा ललितपुर मेयर्स ११ ले दिएको ६६ रनको लक्ष्य कोशीले १२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
कोशीको जितमा अप्सरी बेगमले अविजित २९ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले १३ रन बनाईन् ।
ललितपुरका लागि कप्तान अस्मिना कर्माचार्यले २ तथा कृतिका मरासिनीले १ विकेट लिईन् ।
त्यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर ११ ले १६ ओभर ५ बलमा अलआउट हुदै ६५ रन बनाएको हो ।
ललितपुर ११ का लागि लक्ष्मी चौधरी २३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
कोसीका लागि निशा शाहले ३ तथा अप्सरी बेगमले २ विकेट लिईन् । ललितपुरका ३ खेलाडी रन आउट भए ।
आफ्नो पहिलो खेलमा जित हात पारेको कोशीले अंक तालिका तेस्रो स्थानमा रहेको छ । लगातार दुई खेलमा पराजित ललितपुर अंक बिहिन रहँदै अंक तालिकाको पुछारमा रहेको छ ।
आज भएको पहिलो खेलमा लगातार दोस्रो जित हात पारेको नेपाल एपीएफ क्लब शीर्ष स्थानमा रहेको छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।