काठमाडौँ । क्रिकेट खेललाई ‘जेन्टलम्यान’ गेम भनिन्छ । इंग्ल्याण्डबाट सुरु भएको यो खेलमा सुरुवाती समयमा खेलाडीले कुनै प्रकारको ‘चिटिङ्’ गर्दैन थिए, रिस देखाउदैन थिए । खेलाडीको मजाक उडाउदैन थिए । निकै भद्र तरिकाले खेलिने र समर्थकले पनि शान्त रुपमा ताली बजाएर खेलाडीको हौसला बढाउने गर्ने भएर यसलाई ‘जेन्टलम्यान’ गेम भनिएको हो ।
१२ औं संस्करणको आईसीसी एक दिवसीय क्रिकेट विश्वकप इंग्ल्याण्डमा समापन भएको छ । क्रिकेटको जननी भनेर चिनिने इंग्ल्याण्डले पहिलो पटक उपाधि उचाल्दै इतिहास रच्यो ।
आइतबार भएको निकै रोमाञ्चक फाइनल खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई बाउण्ड्रीको आधारमा पराजित गर्यो । लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा पनि खेलले नाटकीय रुप लियो । इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले १५ रन नै बनायो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेका कारण इंग्ल्याण्डले उपाधि जितेको हो । कसैले पनि सोचेको थिएन, क्रिकेटको खेलमा बाउण्ड्रीको आधारमा विजेता घोषणा हुन्छ भनेर, अझ त्यो पनि विश्वकपको फाइनलमा ।
प्रतियोगिताको सेमिफाइनल अघिसम्म इंग्ल्याण्डको पिचले ब्याटिङमा मद्दत गरिरहेको थियो । लिग चरणको खेलमा आयोजक इंग्ल्याण्डले अफगानिस्तानविरुद्ध बनाएको ३ सय ९७ रन यस विश्वकपको सर्वाधिक स्कोर हो । तर विश्वकपले सेमिफाइनलको यात्रासंगै टिम स्कोरमा लगाम लाग्यो ।
पहिलो सेमिफाइनलमा भारत २ सय ४० रनको सामान्य लक्ष्य पछ्याउँदा १८ रनले पराजित भयो । यस्तै दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया २ सय २३ रनमा अलआउट भयो र इंग्ल्याण्डले ८ विकेटको जित हात पार्यो ।
यता फाइनलमा घाँसे पिच देखियो । अर्थात फास्ट बलरलाई मद्दत मिल्ने लगभग पक्का थियो । टस जितेर पहिले ब्याटिङमा न्युजिल्याण्ड तम्सियो र निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४१ रन बनायो ।
सबैको अनुमान थियो, खेलमा आयोजनक हाबी बन्नेछ । नलागोस पनि किन, सानो लक्ष्य अनि इंग्ल्याण्डका ब्याट्सम्यान उत्कृष्ट लयमा थिए । तर खेल अवधिभर न्युजिल्याण्डले आफ्नो पकड बनाएको थियो । तुलनात्मक हिसाबमा इंग्ल्याण्ड ६ देखि ११ ओभरसम्म बाहेक रनरेट र तुलनात्मक स्कोरमा न्युजिल्याण्ड भन्दा पछाडी रहेको अवस्था थियो ।
खेलको २३ ओभर १ बलसम्म इंग्ल्याण्डले ८६ रनमा ४ विकेट गुमाइसकेको थियो । पाँचौं विकेटका लागि बेन स्टोक्स र जोस बट्लरले १ सय १० रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई जितको आशा देखाएका थिए । तर जितको बाटोमा लम्कदै गरेको इंग्ल्याण्डको थप ४ विकेट जेम्स निशम र लकी फर्गुसनले बाँडेर लगेपछि खेलले रोमाञ्चक मोड लिएको थियो ।
अन्तिम ६ बलमा इंग्ल्याण्डलाई जितका लागि १५ रन आवश्यक पर्यो । बलिङमा थिए न्युजिल्याण्डका मुख्य बलर ट्रेन्ट बोल्ट र स्ट्राइकमा सेट खेलाडी बेन स्टाेक्स ।
पहिलो २ बल डट गराएपछि इंग्ल्याण्डको पोभिलियनमा सन्नाटा छाएको थियो । तेस्रो बलमा छक्का प्रहार गर्दा सारा स्टेडियममा तालीले गुञ्जयमान बन्यो ।
चौथो बलमा स्टोक्सले २ रनका लागि दौडिए, भाग्य बस गुप्टिलले रन आउटका लागि फालेको बल स्टाेक्सले डाइभ गर्दा ब्याटमा लागेर चार रन अतिरिक्त प्राप्त गर्यो ।
सायद त्यो बलले सिधा स्टाम्पमा लागेको भए इतिहासको कथा बेग्लै रचिने थियो ।
अब इंग्ल्याण्डलाई २ बलमा ३ रन चाहियो । दुवै बलमा खेलाडीले दोहोरो रनका लागि दौडने क्रममा रन आउट हुन पुगे र खेलमा बराबरी भयो ।
अब खेलले सुपर ओभरको मोड लियो । पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले १५ रन बनायो र जवाफी व्याटिङमा १६ रनको लक्ष्य सहित मैदान उत्रिएको न्युजिल्याण्डले समेत १५ रन बनायो ।
आईसीसीको नियम अनुसार खेलमा जुन टिमले सर्वाधिक बाउण्ड्री प्रहार गरेको छ, सोही टिम विजेता बन्ने अवस्था थियो ।
फाइनलमा इंग्ल्याण्डले २४ र न्युजिल्याण्डले १६ बाउन्ड्री प्रहार गरेको थियो ।
सोही आधारमा इग्ल्याण्ड विश्वकपको नयाँ विश्व विजेता बन्यो ।
विश्वकप सुरु भएको ४४ बर्षपछि क्रिकेटको जननी इंग्ल्याण्ड पहिलो पटक विश्व विजेता बनेको छ । पहिलो इनिङ्स सकिँदा सायद कमैले सोचेका थिए, फाइनल यति रोमाञ्चक हुनेछ । प्रत्यक्ष खेल हेर्ने क्रिकेट समर्थकका लागि फाईनल खेल जिवनकै उद्भुत क्षण बनेको हुनपर्छ ।
पहिलो इनिङ्सको अनुमान गर्दै खेल छुटाएका समर्थकको लागि चुक्चुकाउनु बाहेक अरु बिकल्प रहेन ।
खेल हो, एक टिम मात्र विजेता हुन्छ । र यसपटक इंग्ल्याण्डले बाजी मार्यो । लगातार दोस्रोपटक फाइनलमा निरास बनेका किबिज टिमका खेलाडीले उपाधि जित्न कुनै कसर बाँकी राखेका थिएनन् ।
विजेता टिम तथा समर्थकको मनमा समेत न्युजिल्याण्डका लागि केही करुणा जगाएको हुनुपर्छ ।
एक दिवसीय क्रिकेटमा प्राय ८ घन्टाको धैर्यता र मेहनतपछि नतिजा आउने गर्छ ।
सामान्य ब्यक्तिले यस खेलको भरपुर मजा लुट्न सक्दैन, त्यसैले त क्रिकेटलाई ‘जेन्टलम्यान’ गेम भनिएको हुनुपर्छ ।