काठमाडौं । ललितपुर सिटी एफसीले राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ । क्लबले बिहिबार बिज्ञप्ति जारी गर्दै अनन्तलाई लाखे टिमको नयाँ मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको घोषणा गरेको हो ।
युवा उमेर समुह हुँदै सिनियर राष्ट्रिय टिमका प्रभावशाली खेलाडीलाई ललितपुर सिटी एफसीले मार्की खेलाडी रोजेको हो ।
अनन्तले पछिल्लो उपलब्धिको रुपमा चर्च ब्वाईज युनाईटेडलाई गत सिजनको ए डिभिजन लिगको उपाधि जिताएका थिए । चर्चका कप्तान समेत रहेका अनन्त प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए ।
भारतको शीर्ष डिजिभनको इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो खेलाडी समेत रहेका अनन्तलाई नेपाली फुटबलको भविष्यको कप्तानको रुपमा समेत लिने गरिन्छ ।
अनन्तको अनुभव, नेतृत्व क्षमता र प्रतिबद्धताबाट क्लबको पहिचान झल्कने भएकाले उनलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरिएको ललितपुर सिटी एफसीले जनाएको छ । अनन्तको आगमनले क्लबले आसन्न एनएसएलमा राम्रो प्रर्दशन गर्नुका साथै उनको नेतृत्वमा युवा खेलाडीले राम्रो अनुभव प्राप्त गर्न सक्ने क्लबले जनाएको छ ।
ललितपुर शहरको प्रतिनिधित्व गर्दै फ्रेन्चाईज फुटबलमा आबद्ध भएको ललितपुर सिटी एफसी, भाटभटेनी सुपर मार्केटको स्वामित्वको क्लब हो । ललितपुर सिटी एफसीले राष्ट्रिय र अन्तराष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने लक्ष्य सहित क्लब स्थापना गरेर फुटबल गतिविधिलाई अघि बढाईरहेको छ ।
