काठमाडौं। सुवास बमको गोलसँगै नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलनजिक पुगेको छ।
भारतको युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा श्रीलंकाविरुद्ध नेपालले ३–० को अग्रता लिएको हो।
नेपालका सुजन डंगोल, धर्वेन्द्र कुँवर र सुवासले गोल गरेका हुन्।
पहिलो हाफको चार मिनेटको अतिरिक्त समय सकिन केही सेकेन्ड बाँकी रहँदा सुजनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए।
राम थापाले दिएको क्रस बललाई सुजनले नियन्त्रणमा लिए। डिबक्सभित्र रहेको बेला लछु थापाले श्रीलंकाका अन्तिम डिफेन्डरलाई ब्लक गर्दै सुजनका लागि गोल गर्ने अवसर मिलाइदिएका थिए। जसलाई उनले गुमाएनन्।
६१औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। सुवास बमले उपलब्ध गराइदिएको क्रसलाई श्रीलंकाकी डिफेन्डर ओमिथ इदिरीसिंघेले क्लियर गर्ने प्रयास गरेका थिए।
तर, उक्त बल धर्वेन्द्रलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको हो। ७७औं मिनेटमा सुवास आफैंले गोल गरे। उनले डिबक्स भित्रबाट गोल गरेका हुन्।