काठमाडौं। एसियन ई–स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको छ। ई–स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा गत शुक्रबारदेखि सुरु भएको पब्जी मोबाइल सोडाउन नामको एसियन ई–स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको हो।
तीन दिनसम्म अनलाइनमार्फत चलेको प्रतियोगितामा अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तान च्याम्पियन बन्यो। पाकिस्तान १५ खेलमा चार पटक चिकेन डिनर जित्दै १७३ अंकको साथ शीर्ष स्थान हासिल गर्यो।
इन्डोनेसियालाई मात्र ४ अंकले पछि पार्दै पाकिस्तानले उपाधिमाथि कब्जा जमाएको हो। इन्डोनेसिया १५ खेलमा तीन पटक चिकेन डिनर जित्दै १६९ अंकसहित दोस्रो स्थान हासिल गर्यो। नेपाल निलो टिमले ४ चिकेट डिनर सहित १५४ अंकसहित तेस्रो स्थान हासिल गर्यो।
नेपाल रातो ११८ अंकसहित चौथौं र मलेसिया १ सय १२ अंकसहित पाँचौं स्थान हासिल गर्यो। छैटौं स्थानको जोर्डनले ९० अंक जोड्यो। प्रतियोगितामा पाकिस्तानका फाल्का सर्वोत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा नेपाल सहित कुल १४ राष्ट्रको सहभागिता रहेको थियो।
उपाधिसहित पाकिस्तानले ४ लाख रुपैयाँ हात पारेको छ। दोस्रो इन्डोनेसियाले २ लाख, तेस्रो स्थानको नेपाल निलोले १ लाख ५० हजार, चौथो नेपाल रातोले १ लाख, पाँचौं र छौटौं स्थानमा आएका मलेसिया र जोर्डनले समान ५० हजार रुपैयाँ हात पारेका छन्।
सर्वोत्कृष्ट खेलाडी फाल्काले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। ई–स्पोर्ट्सको माध्यमबाट एसियाली देशहरुबीच सहकार्य र प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले ई–स्पोर्ट्स संघ नेपालले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष अञ्जन धमलाले बताए।
‘हामीले एसियाली देशहरूलाई एक मञ्चमा ल्याएर एउटा नयाँ अध्यायको सुरुवात गरेका छौं। भविष्यमा पनि यस्ता प्रतियोगिताले निरन्तरता पाउनेछन्,’ धमलाले भने।