काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण फरवार्ड अञ्जन बिष्ट दोश्रो संस्करणको नेपाल सुपर लिगको लागि झापा एफसीसँग मार्की खेलाडीको रूपमा अनुबन्धित भएका छन् ।
झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट अञ्जन बिष्ट अनुबन्ध गरेको जानकारी दिएको हो ।
नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५७ क्याप जितिसकेका बिष्टले १२ गोल समेत गरेका छन् र सर्वाधिक गोलको किर्तिमान बराबरी गर्न १ गोल मात्र टाढा रहेका रहेका छन् ।
२५ बर्षिय नेपाली फुटबलका चम्किला तारा अञ्जनले भर्खरै सम्पन्न भएको सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज यूनाइटेडलाई पहिलो प्रयासमा नै च्याम्पियन बनाउन टोलीको तर्फबाट सर्वाधिक गोल समेत गरेका थिए । उनी एनएसएलको पहिलो संस्करणमा बेष्ट फरवार्ड चुनिएका थिए । दुवै विंग्सबाट खेल्न उत्तिकै सक्षम उनले झापा एफसीको नेपाली फुटबल विकासको भिजन मन परेकै कारण आफूले झापा रोजेको बताए ।
'झापा एफसीको नेपाली फुटबललाई फरक रूपमा अगाडी बढाउने प्लान मलाई निकै मन परेकै कारण झापा रोजेको हु । टिमलाई च्याम्पियन बनाउन आफ्नो क्षमताले भ्याए सम्म सबै कुरामा योगदान पुर्याउने छु । यस टिमसँग जोडिन पाउँदा निकै गर्व महसुस भैरहेको छ ।' अञ्जनले भनेका छन् ।
'नेपाली टिमका महत्वपूर्ण खेलाडी अञ्जनलाई अनुबन्ध गर्न पाउँदा निकै खुशी छौँ । अञ्जन एक प्रतिभाशाली खेलाडी मात्र नभएर राम्रो लिडर पनि हुन् । उनको आगमनले टिममा छुट्टै उर्जा मिलेको महसुस भएको छ ।' झापा एफसीका प्रवक्ता तथा महासचिव सुजन गौतमले बताए ।
'अञ्जन एक मेहनती खेलाडी खेलाडी हुन् । अञ्जनले झापा एफसीलाई पहिलो प्रयासममै लिग जिताउन उल्लेखनीय भुमिका खेल्ने छन् भन्ने पूर्ण विश्वास लिएका छौँ ।' झापा एफसीका अध्यक्ष अर्पण बिक्रम खड्काले भने ।
झापा एफसी दोश्रो संस्करणको लागि थपिएको ३ नयाँ टोली मध्ये एक हो ।
एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाण्डौंको दशरथ रंगशालामा आयोजना हुदैंछ । दोश्रो संस्करणको अक्सन आगामी शनिबार हायात होटलमा सञ्चालन हुदैंछ ।