काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । बुधबार रियल मड्रिडले घरेलु मैदानमा लास पालमासलाई २–० ले हराएको हो ।
जित सहित रियल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पछिल्लो खेलमा एट्लेटिको मड्रिडसँग पराजित बनेपछि रियलको यस सिजनको अपराजित यात्रामा पूर्णविराम लागेको थियो । बुधबार रियलको जितमा ब्राहिम डियाज र जोसेलुले गोल गरेका थिए ।
पहिलो हाफमा हाबी देखिएको रियललाई ब्राहिमले गोल गर्दै पहिलो हाफको इन्जुरी समयमा अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४ औं मिेटमा जोसेलुले हेडमार्फत रियलको जित सुनिश्चित गरेका थिए ।
एट्लेटिकोसँग पराजित बनेपछि रियलले ५ खेलाडी परिवर्तन गरेको थियो । जसमा जुड बेलिङघमलाई समेत आराम दिईएको थियो ।
लास पालमासका गोलकिपर अल्भारो भालिसले रियलका ७ प्रहारलाई बचाउ गर्दै हार अन्तरलाई टारेका थिए ।
गत अगष्टपछि पहिलो पटक मैदानमा देखिएका भिनिसियस जुनियरले राम्रो प्रभाव छाडेका थिए । चोटका कारण मैदान बाहिर रहेका भिनिसियस जोसेलुको स्थानमा मैदान छिरेका थिए ।
रियल १८ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । लाम पालमास ५ अंक सहित तालिकाको पुछारदेखि चौथोमा छ ।