एजेन्सी । चेल्सी स्टार विलियनले क्लबसंग अल्पकालिन सम्झौता गर्न सक्ने संकेत गरेका छन् । समर ट्रान्सफरमा लण्डन क्लब छाड्ने तयारी गरेका विलियनले चालू सिजनको अन्तिमसम्म चेल्सीमा बस्न सक्ने संकेत गरेका हुन् ।
ब्राजिलियन स्टार विलियनको चेल्सीसंगको सम्झौता जुन ३० मा सकिदैछ । प्रिमियर लिग अर्को महिना सुरु गर्ने लक्ष्य राखिएको छ । सोही कारण क्लब र खेलाडीबीच अल्पकालिन सम्झौता हुने सक्ने देखिएको छ ।
क्लबसंग छोटो सम्झौता भएको खण्डमा विलियनले बाँकी सिजन चेल्सीबाटै खेल्नेछन् । अबरुद्ध सिजन जुलाईदेखि अगष्टसम्म बढ्ने देखिएको छ ।
३१ बर्षका विङ्गर प्रिमियर लिग क्लब आर्सनल र टोटेनहमसंग जोडिएका छन् । चेल्सीले विलियनसंग दुई बर्षको सम्झौता थप गर्न चाहेको छ ।
तर विलियनले लण्डन क्लबसंग तीन बर्षको सम्झौता माग गरेका छन् । सोही कारण दुवै पक्षबीच सहमती जुट्न सकेको छैन ।
'अवस्था निकै कठिन छ । चेल्सीले दुई बर्षको नविकरणको प्रस्ताव गरेको छ । उनीहरु प्रस्तावलाई परिमार्जन गर्न तयार छैनन् । तर म तीन बर्ष थप्न चाहन्छु ।' विलियनले ब्राजिली मिडियामा भनेका छन् ।
'अवस्था जटिल छ । मलाई थाहा छैन, भविष्यमा के हुन्छ । मेरो लक्ष्य निरन्तर अघि बढ्ने र सिजन सक्नेनै रहनेछ ।' उनले थपेका छन् ।
३० बर्ष उमेर पुगेका खेलाडीसंग चेल्सीले लामो सम्झौता गर्ने गरेको छैन । सोही कारण फ्रान्क लाम्पार्डको नेतृत्वमा विलियन बाँकी सिजनमात्र देखिने सम्भावना प्रवल छ ।
विलियनले यस सिजन सबै प्रतियोगितामा ३७ खेलमा उत्रने मौका पाए । उनले ७ गोल गर्नुका साथै ६ गोलको अवसर समेत सिर्जना गरे । उनी पछिल्लो सात बर्षदेखि लण्डन क्लबमा छन् । उनले चेल्सीबाट दुई प्रिमियर लिग, एफ ए कप, लिग कप र युरोपा कप जितेका छन् ।
कोरोनाका कारण ब्राजिल पुगेका विलियन चेल्सीको प्रशिक्षणमा फर्किएका छन् । प्रिमियर लिगका अबरुद्ध सिजन जुनबाट सुरु गर्ने लक्ष्य राखिएको छ ।