काठमाडौं। नेपालले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमै ५ गोलको अग्रता लिएको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा जारी खेलमा नेपाल ५–० ले अगाडि छ। नेपालका लागि मीना देउवा र पूर्णिमा राईले समान २ गोल गरिन्। १ गोल समीक्षा मगरको नाममा रह्यो।
खेलको सातौं मिनेटमै नेपालले अग्रता लियो। मीनाले पेनाल्टी बक्सभन्दा निकै बाहिरबाट प्रहार गरेको शक्तिशाली बलले सिधै जाली चुम्यो।
त्यसको ६ मिनेटपछि नै नेपालले समीक्षाको गोलमा अग्रता दोब्बर बनायो। मीनाले दिएको बललाई हुलमुलमा पूर्णिमाको खुट्टासामु पुगेको थियो। पेनाल्टी बक्सभित्रै रहेकी समीक्षाले दोस्रो बारतर्फ सुन्दर फिनिसिङ गरिन्।
समीक्षाले कप्तान विर्सना चौधरीको स्थानमा सुरुआती ११ मा स्थान बनाएकी थिइन्। जारी प्रतियोगितामा यो उनको पहिलो गोल हो। त्यसपछि पनि नेपालले बारम्बार गोलको अवसर बुनेको थियो। तर, हिलाम्मे मैदानमा नेपाल फिनिसिङमा चुक्यो।
४२औं मिनेटमा मीनाले अग्रता ३–० मा पुर्याइन्। माया मास्केको लामो प्रहारलाई श्रीलंकाली गोलकिपरले पञ्च गर्दै बचाएकी थिइन्। तर, सिक्स यार्ड बक्सनजिकबाट रिबाउन्डमा मीनाले अर्को गोल थपिन्।
त्यसपछि नेपालको प्रेसिङलाई श्रीलंकाले रोक्न सकेन र पहिलो हाफको इन्जुरी समयमा थप दुई गोल बेहोर्यो।
दोस्रो मिनेटमा समीक्षाले दिएको लामो क्रसमा पूर्णिमाले उत्कृष्ट रन बनाउँदै गोलमा परिणत गरिन्। लगत्तै समीक्षाले त्यसरी नै निकाल्दिएको बलमा पूर्णिमाले दुरुस्तै गोल निकालिन्।
जारी प्रतियोगितामा उनको यो छैटौं गोल हो। उनले भुटानविरुद्धको ६–१ को जितमा एक्लैले ४ गोल गरेकी थिइन्।