काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध हुने खेलमा गोलकिपर परिवर्तन गरेका छन्।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे हुने तालिका थियो। तर, वर्षाका कारण मैदान हिलाम्मे भएपछि खेल पर धकेलिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल राति ८:१५ बजे हुनेछ।
गुरुङले नियमित गोलकिपर सुजता तामाङलाई आराम दिएका छन्। उनको स्थानमा लिला जैशी सुरुआती ११ मा उत्रिने छिन्। उनले नै कप्तानी जिम्मेवारीसमेत पाएकी छन्।
सुजताले भुटानविरुद्धको ६–१ को जित र बंगलादेशविरुद्धको ३–२ को हारमा पोस्ट सम्हालेकी थिइन्। उनले प्रतियोगितामा कुल ४ गोल खाएकी छन्।