एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले युरोपियन प्रतियोगितामा लागेको दुई सिजनको प्रतिबन्धविरुद्ध कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गरेको छ ।
सिटीले बुधबार प्रतिबन्ध फुकुवाका लागि खेलकुदको सर्वोच्च न्यायिक निकाय कासमा अपिल गरेको हो ।
युरोपेली फुटबल महासंघले दुई साता अघि सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको थियो ।
युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो ।
यस्तै प्रिमियर लिगको साविक विजेतालाई ३० मिलियन युरो समेत जरिवाना गरेको थियो ।
सिटीले प्रायोजन बापतको झुटो रकम देखाएको युईएफएले जनाएको छ । 'प्रायोजन बापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युईएफएमा बुझाएको देखिएको छ ।' युईएफएले जारी गरेको बिज्ञप्तीमा भनिएको थियो ।
अनुसन्धानमा सिटीले सहयोग नगरेको आरोप समेत युईएफएले लगाएको थियो । पछिल्लो प्रतिबन्धसंगै सिटीले आगामी दुई सिजन च्याम्पियन्स लिग खेल्न पाउने छैन ।