काठमाडौं । ब्रिगेड ब्वाईज क्लब र नेपाल पुलिस क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको खेलमा ब्रिगेडले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गरेसँगै समूह 'सी' बाट क्वाटरफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्रिगेडलाई जित दिलाउन रोशन राना मगरले दुई गोल गरे । यस्तै बृजेश चौधरीले १ गोल गरे ।
जितपछि ब्रिगेडले २ खेलबाट ६ अंक जोडेको छ । जावलाखेलले अंक जोड्न सकेको छैन ।
यस समूहमा पुलिसको पनि २ खेलबाट ६ अंक रहेको छ । बिहिबार पुलिसले सरस्वती युथ क्लबलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो ।
पुलिसलाई जित दिलाउन सन्जु सेनले ह्याट्रिक गरे । यस्तै रबिन राई र एन्सन राईले एक एक गोल गरे । सरस्वतीले एक गोल आत्मघाती उपहार पाएको थियो । पुलिसका बिजेन राईले आत्मघाती गोल गरेका थिए ।
यस समूहमा सरस्वतीले पनि २ खेलमा अंक जोड्न सकेको छैन ।