एजेन्सी । स्पेनीस क्लब एट्लेटिको मड्रिडले पोर्चुगलका युवा स्टार तथा बेन्फिकाका मिडफिल्डर जोआ फ्लेक्सलाई क्लबमा अनुबन्धन गरेको जनाएको छ ।
स्पेनिस क्लबले कीर्तिमानी मुल्य १ सय २६ मिलियन युरोमा १९ बर्षिया पोर्चुगिज मिडफिल्डरलाई क्लबमा अनुबन्धन गरेको हो ।
जोआले ७ वर्ष एस्टाडियो वान्डामा रहने गरी क्लबसंग सहमती गरेका छन् । उनी सन् २०२६ जुन सम्मका लागि क्लबसंग अनुबन्धित भएका छन् ।
जोआले जर्सी नम्बर ७ नै लगाउने भएपछि उनलाई ‘अर्को रोनाल्डोको’ उपनाम दिइएको हो ।
खेलाडी सरुवा बजारमा जोआले पाएको रकम क्लब फुटबलकै पाँचौ ठुलो रकम हो । यसअघि नेयमार, केलियन एम्बाप्पे, फिलिप काउटिन्हो र उसमान डेम्बेले सर्वाधिक मुल्यमा किनिएका थिए ।
युवा फुटबलरको सरुवा बजारमा यो दोस्रो ठुलो रकम हो । गत वर्ष फ्रान्सेली फुटबलर केलियन एम्बाप्पेलाई पेरिस सेन्ट जर्मेन पीएसजीले १ सय ६५ मिलियन युरोमा अनुबन्धन गरेको थियो ।
स्पेनिस क्लबले ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै १९ वर्षे मिडफिल्डरलाई स्वागत गरेको छ । सो भिडियोको क्याप्सनमा ‘स्वागतम जोआ फ्लेक्स, उत्कृष्ट खेलाडी’ लेखेर पोर्चुगिज स्टारलाई क्लबमा अनुबन्धन गरेको जनाएको छ ।
बेनिफिकाले एक सुचना सार्वजनिक गर्दै एट्लेटिकोले ३० मिलियन युरो सुरुमा दिने र बाँकी रकम भने किस्तामा उपलब्ध गराउने जनाएको छ ।
जोआले गत सिजनको घरेलु लिगको ४३ खेलमा २० गोल गर्दै युरोपका ठुला क्लबको नजर आफुमा खिच्न सफल भएका थिए ।