काठमाडौं । राष्ट्रिय महिला टिमका खेलाडीद्वय पुजा राना र अन्जना राना मगरको भुटानी लिग खेल्ने प्रक्रिया अनिश्चित बनेको छ । भुटान सरकारले कम उमेरका कारण भिषा दिन अस्विकार गरेपछि दुवै खेलाडीको भुटानी लिग खेल्ने प्रक्रिया अनिश्चित बनेको हो ।
महिला साफ यु–१९ खेल्न भुटान गएको समय दुवै नेपाली खेलाडीलाई भुटानी क्लबले लिग खेलाउन चासो देखाएका थिए ।
दुवै खेलाडीले भुटानको सनराइज फुटबल क्लबबाट खेल्ने पक्का समेत भएको थियो ।
तर भिषाको कारण दुवै नेपाली खेलाडीले भुटानी लिग खेल्ने मौका गुमाउने सम्भावना बढेको छ ।
अन्जना राष्ट्रिय टिमकी गोलकिपर हुने भने पुजा नेपाली महिला टिमकी नियमित डिफेन्डर हुन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले दुवै खेलाडी कम उमेरको भएका कारण व्यवसायीक फुटबल खेल्न भिषा नलागेको बताएको छ ।
‘भिषाको नदिनुको कारण भुटान सरकारले कम उमेरको भनेको छ । सोही कारण भिषा आउने सम्भावना निकै कम छ ।’ एन्फाका एक अधिकारीले भने, ‘पछिल्लो समय भुटान सरकारले व्यवसायीक खेलाडीलाई भिषामा कडाई गरेको छ । त्यसमा समेत कम उमेरको भएको कारण भिषा दिने सम्भावना निकै कम छ ।’
दुवै खेलाडीले पुन एक पटक भिषाको माग गरेका छन् ।
भुटानको महिला लिग जुलाई १८ देखि अगष्ट २० सम्म सञ्चालन हुदैछ ।
राष्ट्रिय टिमकी डिफेन्डर समेत रहेकी पुजाले भुटान सरकारबाट भिषा नआएपनि क्लबले प्रक्रिया अघि बढाईरहेको बताएकी छिन् ।
‘भिषाको कारण रोकिएका हौ । कहिले जाने भन्ने निश्चित भएको छैन ।’ पुजाले खेलपाटीसंग भनिन् ।
‘क्लबमा हाम्रो नाम दर्ता भईसकेको छ । क्लबले समेत प्रक्रिया अघि बढाईरहेको छ ।’ उनले भनिन् ।
घरेलु फुटबलमा विभागीय टिम आर्मीबाट खेल्ने पुजा र अन्जना पछिल्लो समय विदेशी क्लबबाट खेल्ने प्रयास गरिरहेका छन् ।
यसअघि नेपाली खेलाडीद्वय सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय महिला लिग खेलेका थिए । दुवैको प्रेरणादायी प्रर्दशनमा सेथु फुटबल क्लब भारतको लिग च्याम्पियन बनेको थियो ।