काठमाडौं । हिमालयन शेर्पा क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा पहिलो जित दर्ता गरेको छ ।
बुधबार भएको खेलमा मछिन्द्र फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै हिमालयनले पहिलो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयनलाई जित दिलाउन अभिषेक श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको ६९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
जितसंगै समूह 'ए' बाट हिमालयनले २ खेलबाट ४ अंक जोडेको छ । यसअघि पहिलो खेलमा हिमालयनले च्यासल युथ क्लबसँग बराबरी खेलेको थियो ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।