एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा पराजित भएपछि अर्जेन्टिनाका कप्तान तथा फरवार्ड लियोनल मेस्सी रेफ्रीमाथि खनिएका छन् ।
बुधबार बिहान घरेलु टिम ब्राजिलसँग २-० ले पराजित भएपछि मेस्सीले रेफ्रीको आलोचना गरेका हुन् । मेस्सीले रेफ्रीको खराब निर्णयको कारण कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पराजित भएको दाबी गरे ।
मेस्सीले ब्राजिलविरुद्ध अर्जेन्टिनालाई दुई पेनाल्टी नदिएको बताए । खेलपछि निकै आक्रोशित मेस्सीले रेफ्रीको निर्णयप्रति 'बुलसिट' भन्दै अपशब्द बोलेका थिए । उनले ब्राजिल अर्जेन्टिना भन्दा कमजोर टिम भएको तर रेफ्रीहरुले उनीहरुलाई सहयोग गरेको समेत बताए ।
'उनीहरु हामीभन्दा उत्कृष्ट थिएनन्, उनीहरुले सुरुवातमै गोल गरे तर अग्युरोको पेनाल्टी दिईएन,’ मेस्सीले भने, 'रेफ्रीले धरैलाई कार्ड दिए । 'बुलसिट' तर तिनीहरुले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोग लिन आवश्यक ठानेनन्। यो अविश्वसनीय छ ।'
यस्तै मेस्सीले रेफ्रीको निर्णयहरु दक्षिण अमेरिकी फुटबल महासंघले छानविन गर्नेमा आफुलाई विश्वास भएको बताए ।
'त्यहाँ हामीलाई कुनै छुट थिएन् । तर, हामी यसको रिभ्यु चाहन्छौ । आशा छ महासंघले यसबारे केहि गर्नेछ,' मेस्सीले थपे ।