काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो । आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन आशिष राईले २ गोल गरे । यस्तै कैलाश लामिछाने खत्रीले एक गोल गरे । मनाङका यारन गुरुङले आत्मघाती गोल गरेका थिए ।
यस्तै मनाङका लागि रोशन बल लामा र सुमन गुरुङले एक एक गोल फर्काएका थिए ।
जितसंगै समूह 'बी' बाट आर्मीले २ खेलबाट ६ अंक जोडेको छ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।