एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल खेल भोलि (बुधबार) बाट सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा दुई उपाधि दाबेदार राष्ट्र ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
स्टाडियो मिनिराओ रंगशालामा ब्राजिल र अर्जेन्टिनाबीचको खेल बुधबार बिहान ६:१५ मा सुरु हुनेछ । र, घरेलु टोली ब्राजिल र अर्जेन्टिनाबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । यस्तै, ब्राजिलले पाराग्वेलाई ४–३ गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
यस्तोमा दुवै टोली फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । ब्राजिल र अर्जेन्टिनाबीचको विजेताले फाइनलमा चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।
ब्राजिल घरेलु मैदानमा घरेलु समर्थक उच्च मनोबलका साथ मैदान उत्रने छ । नेयमारबिना पनि ब्राजिललाई युवा खेलाडीहरुको साथ रहनेछ ।
यता मेस्सी प्रेणित अर्जेन्टिना घरेलु टोलीलाई स्तब्ध बनाउने योजनामा हुनेछ । र, अर्जेन्टिना लामो समयको उपाधि खडेरी तोड्ने लक्ष्य नजिक पुग्ने छ ।
ब्राजिल र अर्जेन्टिनाबीच हालसम्म ११० पटक भिडेका छन् । जसमा ब्राजिल हावी देखिएको छ । ब्राजिलले ४५ खेल जितेको छ । अर्जेन्टिनाले ३९ खेल जितेको छ । दुईबीचको २६ खेल भने बराबरीमा सकिएको छ ।