काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द 'एनएसजेएफ पल्सर स्पेशल अवार्ड' बाट सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा रोहितलाई स्पेशल अवार्ड प्रदान गरेको हो ।
नेपाली राष्ट्रिय टिमका नियमित सदस्य रोहित इन्डोनेसियामा पर्सिजा जाकार्ताबाट खेल्छन् । अहिले रोहित लिगमा व्यस्त रहेका छन् । जाकार्ताले गत वर्ष २०७५ मा त्यहाँको लिग वान जित्दा उनी त्यसका प्रमुख खेलाडी थिए । त्यसैक्रममा उन लिगकै ‘मोस्ट भ्यालुएल प्लेयर’ चुनिए ।

आधुनिक फुटबलको भाषामा भन्दा रोहित प्रायः ‘बक्स टु बक्स मिडफिल्डर’ का रूपमा खेल्छन् । उनी शारीरिक बलको मदतले खेल्ने खेलाडी हुन् र त्यो इन्डोनेसियाली फुटबलका लागि ठ्याक्कै सुहाउने शैली हो ।
‘वान भर्से वान’ को स्थितिमा रोहित जत्तिको दबरदस्त खेलाडी विरलै पाइन्छ । डिफेन्डरको भूमिकामा पनि उत्तिकै जम्न सक्ने रोहित सटिक ‘ट्याकल’ गर्न पनि माहिर छन् ।
अवार्डसंगै रोहितले ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । रोहितले केल्मी, गोल्डस्टार, ताइक्मेस, डीस मिडिया नेटवर्क, न्यु होराइजन कार्पेटबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।