एजेन्सी । साडियो मानेको दुई गोलको सहयोगमा सेनेगलले केन्यालाई पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा सेनेगलले केन्यालाई ३–० गोल अन्तरले हराएको हो ।
लिभरपुलका फरवार्डले पहिलो हाफको पेनाल्टी मिस गरेका थिए । उनको प्रहारलाई केन्याका गोलकिपर प्याट्रिक मातासीले असफल पारेका थिए ।
माने दोस्रो पेनाल्टीमा भने सफल रहे । ७६ औ मिनेटमा केन्याका फिलेमोन ओटीनोले खतरनाक ट्याकदै गरेपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । प्राप्त पेनाल्टी अवसरमा मानेले गोल गर्दै टोलीलाई सहज जित दिलाएका थिए ।
खेलमा अग्रता सेनेगलले ६३ औ मिनेटमा इस्माइला सर्रको गोलबाट लिएको थियो । ७१ औ मिनेटमा मानेले टोलीको अग्रतालाई दोब्बर बनाउने काम गरेका थिए ।

सेनेगलले अब जुलाई ५ को प्रि–क्वाटरफाईनलको खेलमा युगान्डासंग प्रतिस्पर्धा गर्नेछ ।
केन्या अझै तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीको रुपमा अन्तिम १६ मा पुग्न सक्छ । त्यसका लागि समुह ई र एफको बाँकी खेलको नतिजा कुर्नुपर्छ ।
समुह सीमा अल्जेरिया सतप्रतिशत जित सहित समुह विजेता बन्न सफल रह्यो । सेनेगल ६ अंक सहित उपविजेता बन्यो । तान्जेनिया अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरियो ।