काठमाडौं । चौंथो संस्करणको ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपमा न्युरोड टिम एनआरटी र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । सोमबार भएको खेलमा एनआरटी र संकटाले १-१ गोलको बराबरी खेलेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एनआरटीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा विवेक राईले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

तर, त्यसको एक मिनेट नबित्दै संकटाले खेल बराबरी गरेको थियो । खेलको ७६ औं मिनेटमा अबि पहरीले गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए ।
यो बराबरीसंगै समूह 'ए' को एनआरटीले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा एनआरटीले च्यासल युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।

संकटाको २ खेलबाट १ अंक रहेको छ । पहिलो खेलमा संकटा मछिन्द्र क्लबसंग पराजित भएको थियो ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

