काठमाडौं । एपीएफ क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा थ्री स्टार क्लबलाई ५-२ गोल अन्तरले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन रन्जन पुनले २ गोल गरे । यस्तै विपिन थापा मगर, समिरज थोकर र रोशन प्रधानले एक एक गोल गरे । थ्री स्टारका दिप्सन राउत र सुमन श्रेष्ठले एक एक गोल फर्काए ।

जितसंगै समूह 'बी' को एपीएफले पहिलो खेलबाट ३ अंक जोडेको छ । थ्री स्टारको यो पहिलो हार हो । पहिलो खेलमा थ्री स्टारले मनाङ मर्स्याङ्दीसंग २-२ गोलको बराबरी खेलेको थियो । थ्री स्टारको २ खेलबाट १ अंक रहेको छ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।



