एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल बुधबारबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा दुई उपाधि दाबेदार राष्ट्र ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
स्टाडियो मिनिराओ रंगशालामा ब्राजिल र अर्जेन्टिनाबीचको खेल बुधबार बिहान ६:१५ मा सुरु हुनेछ । र, घरेलु टोली ब्राजिल र अर्जेन्टिनाबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । यस्तै, ब्राजिलले पाराग्वेलाई ४–३ गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
यस्तोमा दुवै टोली फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । ब्राजिल र अर्जेन्टिनाबीचको विजेताले फाइनलमा चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।
कोपा अमेरिकाको इतिहासमा ब्राजिल र अर्जेन्टिना चौंथो पटक भिड्न लागेका हुन् । समग्रमा भने ब्राजिलले ४५ खेल जितेको छ । अर्जेन्टिनाले ३९ खेल जितेको छ । दुईबीचको २५ खेल भने बराबरीमा सकिएको छ ।
कोपा अमेरिकामा ब्राजिल र अर्जेन्टिनाबीच यसअघिको भिडन्त कस्तो थियो ?
१. ब्राजिल ३–० अर्जेन्टिना (फाइनल–२००७)
सन् २००७ को कोपा अमेरिकाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो ।

अर्जेन्टिनाविरुद्धको फाइनलमा सन् १९९४ को विश्वकप विजेता टोलीका मुख्य सदस्यहरु रोनाल्डिन्हो, काका जस्ता खेलाडी थिएनन् । तर, प्रशिक्षक डुंगाले युवा खेलाडीहरु रोबिन्हो, इलानो, भेग्नर लव र जुलियो बाप्टिस्टालाई मौका दिएको थियो ।
यस्तै, अर्जेन्टिनाबाट भने जुवान रिक्युलमे, युवा खेलाडी लियोनल मेस्सी, जाभियर मास्चीरानो, जुवान सेबास्टिएन र कार्लाेस टेभेजले खेलेका थिए ।
उक्त फाइनलमा ब्राजिलका लागि जुलियो बाप्टिस्टा र डानी अल्भेसले एक एक गोल गरेका थिए । एक गोल अर्जेन्टिनाका रोबर्टो आयलाले आत्मघाती गोल गरेका थिए ।
२. अर्जेन्टिना २–२ ब्राजिल (पेनाल्टीपछि २–४, फाइनल –२००४)
सन् २००४ को कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना र ब्राजिलको प्रर्दशन निकै प्रतिस्पर्धात्मक थियो ।
खेलको ९० मिनेट र अतिरिक्त समयसम्म दुवै टिमले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा ब्राजिलले ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
पेनाल्टीमा भने ब्राजिलियन किपर जुलियो सिजर नायक बनेका थिए । उनले अर्जेन्टिनाका आन्द्रेस निकोलसको पेनाल्टी बचाएका थिए । यस्तै अर्जेन्टिनाका गाब्रियल इभानले गोल गर्न सकेनन् । ब्राजिलका चारै खेलाडीले गोल गरेका थिए ।
पेनाल्टी अघि अर्जेन्टिनाका क्रिस्टियन अल्बर्टो र सेजर फाबियानले गोल गरेका थिए । ब्राजिलका लागि युवा खेलाडी लुइस फाबियानो र एड्रिन्नोले गोल गरेका थिए ।
३. ब्राजिल २–१ अर्जेन्टिना (सेमिफाइनल –१९९९)
सन् १९९९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई २–१ गोलले पराजित गरेको थियो ।

उक्त खेलमा ब्राजिलबाट स्टार खेलाडीहरु रोनाल्डो, रोनाल्डिन्हो, रिभाल्डो मैदान उत्रिएका थिए । अर्जेन्टिनाबाट जुवान रोमन, डिएगो सिमोन, जुवान पाब्लो सोरिन जस्ता खेलाडी मैदान उत्रिएका थिए ।
खेलमा ब्राजिलका रोनाल्डो र रिभाल्डोले गोल गरेका थिए । अर्जेन्टिनाका जुवान पाब्लो सोरिनले एक गोल फर्काएका थिए ।
फाइनलमा ब्राजिलले उरुग्वेलाई हराएर उपाधि जितेको थियो ।