एजेन्सी । अफ्रिका कप अफ नेसन्स फुटबलमा ईजिप्टले युगाण्डालाई हराएको छ । मोहमद सलाहाको गोलमा ईजिप्टले समूह चरणको अन्तिम खेलमा युगाण्डालाई २–० गोल अन्तरले हराएको हो ।
समूह चरणमा शतप्रतिशत जित निकाल्दै ईजिप्ट समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।
खेलको ३६ औ मिनेटमा लिभरपुल स्टार सलाहाले फ्रिकिकमार्फत गोल गर्दै ईजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको ईन्जुरी समयमा एल मोहम्मदीले गोल गर्दै ईजिप्टको जित सुनिश्चित गरेका थिए ।
जितसंगै ईजिप्ट ३ खेलबाट ९ अंक सहित समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्याे । युगाण्डाले समूहउपविजेताको रुपमा प्रि क्वाटरफाईनलमा स्थान बनाएको छ । उसले ३ खेलबाट ४ अक जोड्याे ।
सात पटकको प्रतियाेगिता विजेता ईजिप्ट भन्दा धेरै आक्रमण बुनेपनि युगाण्डाले खेलमा गोल भने गर्न सकेन ।