काठमाडौं । ब्रिगेड ब्वाइज क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार ब्रिगेडले सरस्वती युथ क्लबलाई ११-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्रिगेडको जितमा बृजेश चौधरी र रोशन राना मगरले ह्याट्रिक गरे । यस्तै शिशिर कार्की र एन्जल महर्जनले २/२ गोल गर्दा दिपेश गुरुङले एक गोल गरे ।
सरस्वतीका प्रदीप कार्कीले सान्त्वना गोल फर्काए।

जितसंगै समूह 'सी' ब्रिगेडले पहिलो खेलबाट ३ अंक जोडेको छ । पराजित सरस्वतीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
