एजेन्सी । ब्राजिलियन डिफेन्डर थियागो सिल्भाले अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वकालीन महान खेलाडी रहेको बताएका छन् ।
घरेलु मैदानमा जारी कोपा अमेरिका अन्तर्गत अर्जेन्टिनाविरुद्धको सेमिफाइनल खेलअघि ब्राजिलियन कप्तान सिल्भाले मेस्सी महान खेलाडी भएको बताए ।
सिल्भाले पाँच पटकको बालोन डी'ओर विजेता मेस्सी सर्वकालीन महान खेलाडीका लागि उपयुक्त खेलाडी रहेको दाबी गरे ।
'मेरो लागि मेस्सी इतिहासकै महान खेलाडी हो । मैले देखेको सर्वकालीन महान खेलाडी हुन्,' पेरिस सेन्ट जर्मेनका डिफेन्डर सिल्भाले भने ।
ब्राजिलले आगामी बुधबार फाइनल प्रवेशका लागि अर्जेन्टिनाको सामना गर्दैछ ।

यस्तै सिल्भाले राष्ट्रिय टिम अथवा च्याम्पियन्स लिग जुनै प्रतिस्पर्धामा पनि मेस्सीको सामना गर्न निकै कठिन हुने बताए ।
'हामी हरेक पटक एक-अर्काको सामना गर्छौं, चाहे राष्ट्रिय टिम होस् वा च्याम्पियन्स लिग । उनीहरूको सामना गर्न निकै गाह्रो छ,' सिल्भाले थपे ।
त्यस्तै सिल्भाले अर्जेन्टिनालाई रोक्न आफुहरुले तयारी गरिरहेको बताए ।