एजेन्सी । हुन त कोपा अमेरिका फुटबलमा समुह चरणको खेल सकिएको केही दिन बितिसक्यो । नकआउट चरणको पहिलो खेल समेत समाप्त भईसक्यो । तर अर्जेन्टिना कोपा अमेरिका बल्ल सुरु भएको मान्यता राख्छ । यो मान्यता राख्नेमा अरु कोही नभएर मेस्सी हुन् ।
राम्रो भन्नलाई अर्जेन्टिना र मेस्सीसंग अरु केही पनि त छैन । पहिलो खेलमै अर्जेन्टिना कोलम्बियासंग पराजित भयो । दोस्रो खेलमा पाराग्वेसंग १–१ को निराशाजनक बराबरी खेल्यो । धन्न पाराग्वेले पेनाल्टी मिस गर्यो । नत्र त्यो खेलमा नतिजा बेग्लै हुन सक्थ्यो । अनि गत शुक्रबार अन्तिम खेलमा कतारलाई २–० ले हराएर अर्जेन्टिनाले नकआउट चरणको टिकट काट्यो । त्यही साता मेस्सीले आफ्नो ३२ बर्षको जन्मदिन मनाए ।
युरोपेली क्लब फुटबलमा सबै सफलता हात पारेका मेस्सीले अर्जेन्टिनाका लागि केही ठुलो जित्न सकेका छैनन् । त्यसैले पनि मेस्सीका लागि चालु कोपा अमेरिका अन्तिम मौका हुन सक्छ ।
त्यसैले पनि मेस्सी अर्जेन्टिनाको बास्ताविक परिक्षा अब सुरु भएको मान्छन् ।

उनी भन्छन्, ‘बल्ल अर्को कोपा अमेरिका सुरु भयो । अब यो सबै हुनेछ वा केही रहने छैन ।’
भनेको अवस्था अब गर वा मरको छ ।
पाँच पटकका वालेन डी ओर अवार्ड विजेताले भने, ‘हामीलाई कतारविरुद्व जस्तो खेल आवश्यक छ । आत्मविश्वास जगाउन र दाबेदारिता प्रस्तुत गर्न । खेल जसरीनै टिम अघि बढ्छ ।’
अर्जेन्टिनाले आज राति कोपा अमेरिकाको क्वाटरफाईनलमा भेनेजोयलासंग प्रतिस्पर्धा गर्दैछ । नकआउट चरण सुरु भएको अवस्थामा अर्जेन्टिनालाई हार्ने छुट छैन । त्यो मेस्सीलाई समेत राम्रोसंग थाहा छ ।
सोही कारण बाँकी खेलमा शतप्रतिशत जित निकाल्दै उपाधि यात्राको रेखा कोर्नुपर्ने चुनौती मेस्सीको अर्जेन्टिनी टिम सामु छ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।