एजेन्सी । लिभरपुलका पूर्व गोलकिपर रे क्लेमेन्सले यस पटकको बालोन डी'ओर अवार्ड डिफेन्डर भिर्गिल भान डिज्कले जित्ने बताएका छन् ।
लिभरपुलबाट तीन पटक युरोपियन कप जित्न सफल ७० बर्षीय गोलकिपर क्लेमेन्सले डिज्क अवार्डका मुख्य दाबेदार रहेको दाबी गरे ।
‘कसले वर्षैभरी लिभरपुलमा प्रभाव जमायो ? म भन्छु, भान डिज्क । यहाँ आक्रमक र सृजनात्मक खेलाडीले जितिरहेका छन् ।’ क्लेमेन्सले भने, ‘गोल गर्नु र सृजना गर्न धेरै नै कठिन हुन्छ तर भान डिज्कले अन्तिम सिजन प्रभाव जमाएको छ । मेरो विचारमा उनी यसको लागि प्रमुख दाबेदार हुन् ।’
यस्तै इन्ग्लिश गोलकिपर क्लेमेन्सले डिफेन्डर डिज्कसंगै गोलकिपर एलिसनले लिभरपुलको लागि गत सिजन उत्कृष्ट खेलेको बताए ।
दुवैको प्रदर्शन र अनुभवको कारण लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेको क्लेमेन्सले बताए । यस्तै लिभरपुल इन्ग्लिश प्रिमियर लिगमा उपविजेता बनेको थियो ।
टोटेनहमका पूर्व गोलकिपर समेत रहेका क्लेमेन्सले लिभरपुलबाट पाँच पटक शीर्ष डिभिजन लिगको उपाधि जितेका थिए ।