एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनरले ब्राजिलियन फरवार्ड नेयमार क्लब फर्कन चाहिरहेको बताएका छन् ।
बार्सिलोनामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कार्डोनरले नेयमार क्लब फर्कन चाहेको बताए । तर, क्लबले नेयमारलाई फर्काउनबारे अहिले नसोचेको उनले बताए ।
'यो पक्का हो नेयमार क्लब फर्कन चाहन्छ । तर, बार्सिलोना उनलाई अनुबन्ध गर्नेबारे सोचेको छैन,' उपाध्यक्ष कार्डोनरले भने ।
बार्सिलोनामा चार बर्ष बिताएका नेयमार सन् २०१७ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । नेयमार कीर्तिमानी मूल्य २ सय मिलियन पाउण्डमा पीएसजी गएका थिए ।
तर, पछिल्लो समय नेयमार पीएसजीमा स्थापित संघर्ष गरिरहेका छन् । चोटका कारण नेयमार अधिकांस समय मैदान बाहिर रहदै आएका छन् ।
यस्तै उपाध्यक्ष कार्डोनरले मानिसहरुले क्लबले नेयमारसँग सम्झौता गरिसकेको बुझेको भएपनि क्लबले नेयमारसंग अहिलेसम्म कुराकानी नगरेको समेत बताए ।
'मानिसहरुले भन्ने गर्छन हामीले नेयमारलाई अनुबन्ध गरेका छौँ । हामीले कसैलाई अनुबन्ध गरेका छैनौँ । हामीले उ सँग कुनै कुराकानी गरेका छैनौँ,' उपाध्यक्ष कार्डोनरले भने,'उ (नेयमार) र अन्य धेरै खेलाडीहरु बार्सिलोनाबाट खेल्न चाहन्छ।'
त्यस्तै उपाध्यक्ष कार्डोनरले नेयमार क्लब फर्किए कुनै आश्चर्य नहुने बताए ।