काठमाडौं । पहिलो संस्करणको उप-मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिकाकी रेखा पौडेल सर्वोकृष्ट खेलाडी चुनिएकी छिन् ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि विराटनगरलाई दिलाउन सफल रेखा सर्वोकृष्ट चुनिएकी हुन् ।
बिहिबार भएको उपाधि भिडन्तमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले हराउँदै विराटनगरले उपाधि उचालेको थियो ।
सर्वोकृष्ट बनेसँगै रेखाले २५ हजार नगदसहित ट्रफी हात पारिन् ।

यस्तै प्रतियोगिताको व्यक्तिगत विधातर्फ भने बाह्रबिसेका खेलाडीको वर्चश्व रह्यो ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर विराटनगरकी कल्पना कार्की, डिफेन्डर बाह्रबिसेकी सरिता शेर्पा, मिडफिल्डर बाह्रबिसेकी रजनी श्रेष्ठ र स्ट्राइकर बाह्रबिसेकै पार्वती घले चुनिइन् । उत्कृष्ट प्रशिक्षक विराटनगरका पारस चौधरी चुनिए ।

व्यक्तिगत विधामा उत्कृष्ट हुनेले जनही १०/१० हजार प्राप्त गरे ।



