काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले भारतको चेन्नईयिन एफसीसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुवै टोलीले केहि उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् ।
पहिलो हाफमा मनाङले ३ पटक गोलको अवसर खेर फालेको थियो । यस्तै चेन्नईयिनले दुई पटक उत्कृष्ट मौका गुमाएको थियो ।
मनाङका हेमन गुरुङले गुरुङले १९ औं मिनेटमा गोलको अवसर खेर फालेका थिए । ३१ औं मिनेटमा आफिज ओलावालेले गोल गर्ने अवसर खेर फालेका थिए । त्यस्तै ४१ औं मिनेटमा सोमिडे एडिलाजाले उत्कृष्ट अवसरमा गोल गर्न सकेनन् ।
खेलको ४० औं मिनेटमा चेन्नईयिनका जेरी लाल्रिनजुआलाको उत्कृष्ट प्रहार मनाङका किपर विशाल श्रेष्ठले बचाए । यस्तै मोहमद राफीले ३६ औं मिनेटमा प्रहार गरेको हेड बल पोष्टमाथिबाट बाहिरिएको थियो ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
एएफसी कपबाट बाहिरिसकेको मनाङको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । समूह 'ई' मा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । तर, अन्तिम खेल जित्दै मनाङ सुखद अन्त्य गर्न चाहन्छ ।
चेन्नईयिन भने मनाङलाई पराजित गर्दै अर्को चरणमा पुग्ने योजनामा रहेका छन् । चेन्नईयिन ८ अंक जोडेर दोस्रो स्थानमा स्थानमा छ ।