काठमाडौं । धनगढी उपमहानगरपालिकाले काठमाडौंमा जारी अन्तर नगरपालिका उपमेयर कप महिला फुटबलमा सान्त्वना जित निकालेको छ ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा पनौती नगरपालिकालाई ८-० गोल अन्तरले पराजित गर्दै सान्त्वना जित निकालेको हो ।
धनगढीको जितमा चन्द्रा भण्डारीले ४ गोल गरिन् । यस्तै श्रीषा कार्कीले ह्याट्रिक तथा मन कुमारी चौधरीले १ गोल गरिन् ।
यो जितसँगै समूह 'डी' बाट धनगढीले ३ खेलमा ३ अंक जोड्यो । पनौती अंक विहिन हुँदै घर फर्कियो ।

अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले आयोजना गरेको प्रतियोगिताको सेमिफाइनल समीकरण भने यसअघि नै पुरा भईसकेको छ ।
अब मंगलबार हुने पहिलो सेमिफाइनलमा वालिङ नगरपालिका र बाह्रविशे नगरपालिकाबीच खेल हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा विराटनगरले चौदण्डी गढीको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले ५ लाख पाउने छ भने उपविजेताले ३ लाख पाउनेछ ।
यस्तै फेयर प्ले टिमले ५० हजार र सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।
