काठमाडौं । विराटनगर महानगरपालिका काठमाडौंमा जारी अन्तर नगरपालिका उपमेयर कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा सोमबार भएको खेलमा विदुर नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै विराटनगर अन्तिम चारमा पुगेको हो ।
विराटनगरको जितमा राष्ट्रिय टिमकी खेलाडी समेत रहेकी रेखा पौडेल, ईमा राई र सावित्री मगरले एक एक गोल गरिन् । विदुरकी अनु लामा र तारा थिङले एक एक गोल फर्काइन् ।
यो जितसँगै समूह 'डी' बाट विराटनगरले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेर समूह विजेतासहित सेमिफाइनलमा पुगेको हो । विदुरले ६ अंक जोड्यो । तर, विदुरले सेमिफाइनलमा स्थान बनाउन सकेन ।
विराटनगर अन्तिम चारमा पुगेसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । अब मंगलबार हुने सेमिफाइनलमा विराटनगरले चौदण्डी गढीको सामना गर्नेछ । यस्तै अर्को सेमिफाइनलमा वालिङ नगरपालिका र बाह्रविशे नगरपालिकाबीच खेल हुनेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख पाउने छ भने उपविजेताले ३ लाख पाउनेछ ।
यस्तै फेयर प्ले टिमले ५० हजार र सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।